शहीद स्मारक ‘बी’ डिभिजन लिग समापन भएको छ । लिगको समापन समारोह आज दशरथ रंगशालामा भएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, पूर्व सहसदस्य मनिष जोशी र मणिराज विष्टलगायत विशिष्ट अतिथिहरुले विजेता क्लब र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
प्लानिङ ब्वाइज युनाइटेड बी डिभिजन लिगको च्याम्पियन बनेको छ भने श्री भगवती क्लब दोस्रो र ब्वाइज युनियन क्लब तेस्रो भएको छ । विजेताले १५, उपविजेताले १० र तेस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । प्लानिङ ब्याइज युनाइटेड र श्री भगवती क्लब टोखा ‘ए’ डिभिजनमा बढुवा भएका छन् । यस पटक श्री टुसाल युवा क्लब र नयाँबस्ती युवा क्लब ‘सी’ डिभिजनमा घटुवा भएका छन् ।
लिगको अन्तिम खेलमा श्री भगवती क्लबलाई पराजित गर्दै सरस्वतीले सान्त्वना जित निकालेको छ । सरस्वतीले श्री भगवती क्लबविरुद्ध ३-२ को पुनरागमन जित दर्ता गरेको छ । सरस्वतीले १८ अंकका साथ लिग अन्त्य गरेको छ । सरस्वतीले १३ खेलमा ६ जित र सात हारबाट १८ अंक जोडेको हो । पराजित भगवतीले भने पहिलो हार बेहोर्दै लिगको अन्त्य गरेको छ । भगवतीले अन्तिम खेलबाट तीन अंक जोड्दै २६ अंकका साथ लिगको अन्त्य गरेको हो । अन्तिम खेलमा हार बेहोरे पनि भगवती एक खेलअगावै ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो । उसले १३ खेलमा सात जित, एक हार र पाँच बराबरीबाट २६ अंक जोडेको हो ।
यस वर्षको लिगमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती, टुसाल यथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगन्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड गरी कुल १४ क्लब सहभागी थिए ।
एकल राउन्ड रोबिनका आधारमा सञ्चालित लिगमा ९१ वटा खेल भएका थिए । प्रतियोगिताका अधिकांश खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा र केही खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन भएका थिए । बी डिभिजन लिग गत फागुन २५ मा सुरु भएको थियो ।