थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामको सहमति भएको छ । पाँचदिने युद्धमा कम्तीमा ३६ जनाको मृत्युपछि सोमबार बिनासर्त युद्धविरामको सहमति भएको हो ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सोमबार मध्यरातदेखि दुई देश तत्काल र बिनासर्त युद्धविराम गर्न सहमत भएको जानकारी दिएका छन् । ‘यो तनाव कम गर्न र शान्ति र सुरक्षाको पुनर्स्थापनाका लागि महत्त्वपूर्ण पहिलो कदम हो,’ उनले भने ।
मलेसियाको प्रशासनिक राजधानी पुत्रजयामा थाई कार्यवाहक प्रधानमन्त्री फुमथम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हन मानेत साथमा राखेर आयोजित पत्रकार सम्मेलनमा इब्राहिमले युद्धविराममा सहमति भएको जानकारी दिएका हुन् ।
अब दुवै पक्षका सैन्य कमान्डरको बैठक मंगलबार बिहान हुने छ । त्यसपछि दुवै देशको सीमा समितिको बैठक अगस्ट ४ मा कम्बोडियामा हुने तय भएको छ ।
‘आज हामीले धेरै राम्रो बैठक र धेरै राम्रो नतिजा प्राप्त गर्यौं,’ कम्बोडियाका प्रधानमन्त्रीले भनेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णायक समर्थनका लागि धन्यवाद दिएका छन् । युद्धविरामले भविष्यमा तनाव कम गर्न रूपमा काम गर्ने उनको भनाइ छ ।
दुई पक्षको युद्धका कारण दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सैनिक र सर्वसाधारण गरी हालसम्म दुवै पक्षका करिब तीन दर्जनको मृत्यु भइसकेको छ ।