संसदको १५ दिने क्यालेण्डर तय

Yangle News
Yangle News
२०८२ भदौ १२ गते
संसदको १५ दिने क्यालेण्डर तय

प्रतिनिधिसभाको भदौ महिनाभरको क्यालेण्डर तय गरिएको छ । सभामुख र प्रमुख सचेतकसँग छलफलका क्रममा संसदको आगामी १५ दिनको क्यालेन्डर तय भएको हो ।

भदौको दोस्रो पाक्षिक कार्यतालिका अनुसार १८, १९, २५, २६ र २७ भदौमा प्रतिनिधिसभाको बैठक बस्नेछ । प्रतिनिधिसभाले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यही १९ भदौमा पारित गर्ने कार्यतालिका तय गरेको छ ।

सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकसँग आज सिंहदरबारमा गरेको छलफलपछि निजामती विधेयक राष्ट्रियसभाबाट आएका खण्डमा यही १९ भदौमा प्रतिनिधिसभाबाट पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको हो । प्रशासनिक संघीय कार्यान्वयनका सम्बन्धमा महत्वपूर्ण मानिएको निजामति विधेयकलाई पारित गर्ने कार्य यस अधिवेशनको महत्वपूर्ण कार्य हो ।

त्यसैगरी, २६ भदौमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर पनि तय भएको छ । शुक्रबार बस्ने संसद् बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउनेछ भने १८ भदौमा बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने कार्यतालिका छ ।

राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची पनि तय भएको उनले बताए ।