काठमाडौंका सडकमा सेना, घरबाहिर ननिस्कन आग्रह

Yangle News
Yangle News
२०८२ भदौ २५ गते
काठमाडौंका सडकमा सेना, घरबाहिर ननिस्कन आग्रह

नेपाली सेना आज बिहानैदेखि सडकमा उत्रिएको छ । जेनजीको प्रदर्शन तोडफोड, आगजनी र व्यक्ति आक्रमणमा परिणत भएपछि नेपाली सेना मंगलबार राति दश बजेदेखि काठमाडौंका सडकमा उत्रिएको हो ।

प्रधानसेनापति अशोकराज सिक्देलले मंगलबार साँझ सम्बोधन गर्दै राति १० बजेबाट नेपाली सेनासहित सुरक्षा निकायले सुरक्षाको जिम्मेवारी लिएको बताएका छन् । सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिँडडुल गर्न छुट दिएको छ ।

प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालतलगायत सरकारी संरचना र नेताका घरमा तोडफोड र आगजनी गरेपछि सेनाले सुरक्षाको अगुवाइ गरेको हो ।

नेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउ परेका छन् । हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँको बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिहरु पक्राउ परेका छन् । यसैगरी काठमाडौं तथा भक्तपुरका विभिन्न ईलाकाहरु (राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका)बाट लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका छन् ।