दक्षिण कोरियाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई ४० करोड रुपैयाँ (३ लाख अमेरिकी डलर) सहयोग गरेको छ । गत कार्तिक २७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा १ सय ५७ जनाको ज्यान गएको थियो । सो रकम संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) मार्फत हस्तान्तरण गरिने जनाइएको छ ।
कोरियाले सन् २०१५ को भूकम्प र कोभिड–१९ महामारीमा पनि नेपाललाई सहयोग गर्दै आएको छ । भूकम्पपछि उच्च जोखिममा रहेका महिला तथा किशोरीहरुलाई यौन र अन्य हिंसा, शोषण र दुर्व्यवहारको जोखिमबाट बाहिर ल्याउन सो रकम खर्च हुनेमा आफू विश्वस्त रहेको नेपालका लागि दक्षिण कोरियाली राजदूत एच. ई. तेयोङ पार्कले बताए । नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध कायम भएको आगामी वर्ष (सन् २०२४) मा ५० वर्ष पुग्दैछ ।
दक्षिण कोरियाको सहयोगमा, युएनएफपीएले आगामी तीन महिनामा ४० हजार भन्दा बढी महिला तथा बालिकाहरूलाई सेवा दिने, पाँच हजार न्यानो कपडा तथा सामग्री र विभिन्न स्वास्थ्य किटका १४ वटा सेट लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गर्ने विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
रकम जाजरकोट र रुकुम पश्चिमका ५० भन्दा बढी यौन तथा प्रजनन स्वास्थ्य तथा लैङ्गिक हिंसा विरुद्ध लड्ने सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्न पनि प्रयोग गरिने युनएनएफपीएले जनाएको छ ।