अब हेलिकप्टरहरु नलिञ्चोकको हेलिपोर्टबाट उड्ने

Yangle News
Yangle News
२०८१ असार ७ गते
अब हेलिकप्टरहरु नलिञ्चोकको हेलिपोर्टबाट उड्ने

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दै आएका हेलिकप्टरहरुले अबदेखि भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्टबाट उडान भर्ने छन्  । शुक्रबार बिहान नौ वटा वायुसेवा कम्पनीका हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर नलिन्चोक अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले बताए ।

विमानस्थलको गुरु योजना अनुसार ५८ वर्षपछि यो कार्य भएको हो ।

३३ रोपनी क्षेत्रफलमा फैलिएको हेलिपोर्ट एक वर्षअघि नै निर्माण सम्पन्न भएको थियो । १३ वटा हेलिकप्टर पार्कीङ क्षमता भएको पोर्टमा एकैपटक चार स्थानबाट हेलिकोप्टरले उडान गर्न सक्नेछन् । हेलिकोप्टरको लागि इन्धन उपलब्ध गराउन हाललाई आयल निगमले दैनिक ट्यांकर पठाउनेछ ।

प्राधिकरणले झण्डै १२ करोड रुपैयाँ लागतमा निर्माण गरेको हेलिपोर्टबाट अब देशभर उडान हुनेछन् । आपत्कालीन, मेडिकल उडान लगायतका प्राथमिकतामा राखिएका हेलिकोप्टरलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको अनुमति दिइने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

बाँकी पर्यटकीय चार्टर उडान भने नलिञ्चोकबाट हुनेछन् ।

नेपालमा दर्ता १२ वटा होलिकोप्टर कम्पनीसँग साना र ठूला गरी ३३ वटा हेलिकोप्टर रहेका छन् । केही हेलिकोप्टर अझै केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहने छन् ।