बडादशैंअन्तर्गत आज सप्तमी, घर-घरमा फूलपाती भित्राइँदै

Yangle News
Yangle News
२०८२ अशोज १३ गते
बडादशैंअन्तर्गत आज सप्तमी, घर-घरमा फूलपाती भित्राइँदै

बडादशैंअन्तर्गत नवरात्रको सातौं दिन आज पूजा कोठा वा दशैं घरमा फूलपाती भित्र्याइँदै छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतमले जानकारी दिए ।

फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पनि उनले बताए । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलससहित उच्च पदस्थ व्यक्तिसमेतको उपस्थितिमा फूलपाती बढाइँ गर्दैछ ।

फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैंघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । हनुमान ढोकामा यस वर्ष अपराह्न साँढे चार बजे भित्र्याउने कार्यक्रम छ ।