नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ ।
राष्ट्रिय सभा गृहमा सोमबार आयोजित विशेष समारोहकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट फर्किएका नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै घरमा स्वागत गरे । कार्यक्रममा एकीकृत समाजवादीमा लागेका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह ‘कलम’ अध्यक्ष ओलीलाई बुझाएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता तथा कार्यकर्ताहरू ठूलो संख्यामा एमालेमा फर्किएका छन् । कार्यक्रममा फर्किएका नेताहरूको नाम वाचन गरी सार्वजनिक गरिएको छ ।
पार्टीका शीर्ष नेताहरूले यो अभियानलाई संगठनभित्र पुनः एकताको सुरुवातका रूपमा व्याख्या गरेका छन् । अध्यक्ष ओलीले एमालेमा फर्किएकाहरूलाई उत्साहपूर्वक स्वागत गरेका छन् ।
नेता श्रेष्ठले आफू पार्टीमा फर्किएको मात्र होइन, आफ्नो प्रतिवद्धता पनि फर्काएको बताए । उनले भने, ‘हामी केवल पार्टीमा मात्र फर्किएका छैनौं, हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका छौं । आगामी दिनमा आउनेहरू पनि यही भावना लिएर फर्किनुहुन्छ ।’ उनले आफूहरू कुनै माग र सर्त बिना नै एमालेमा फर्किएको उद्घोष गरे । उनले यसअघि चार वर्षअघि आफू पार्टीबाट बाहिरिए पनि त्यस बेलाको निर्णय गलत रहेको निष्कर्षमा पुगेको बताए ।
नेतृ झाँक्रीले जनताको रक्षा गर्ने पार्टी एमाले भएको बताइन् । उनले चार वर्षअघिको परिस्थिति जे जस्तो भए पनि अहिले बिना सर्त एमालेमा फर्किएको बताइन् । आफू एमालेमा फर्किँदा थुप्रै जिज्ञासाहरू उब्जिए पनि आगामी दिनमा यो समयलाई प्रमाणित गर्ने उनले बताइन् ।