काभा भलिबलको सेमिफाइनमा नेपालको प्रतिस्पर्धी इरान

Yangle News
Yangle News
२०८३ जेष्ठ ११ गते
काभा भलिबलको सेमिफाइनमा नेपालको प्रतिस्पर्धी इरान

काठमाडौंलो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत सेमिफाइनल समीकरण पूरा भएको छ ।

सोमबार भएको दिनको तेस्रो तथा समूह चरणको अन्तिम खेलमा अन्तिम खेलमा इरानले कजाखस्तानलाई ३-० को सोझो सेटमा हराएपछि सेमिफाइनलमा घरेलु टोली नेपाल सँगको भेट तय भएको हो । समूह ‘बी’ को शीर्ष स्थानका लागि निर्णायक मानिएको खेलमा इरानले कजाखस्तानलाई २५-२२, २५-२० र २५-२२ को सेटमा पराजित गर्दै अपराजित यात्रालाई कायम राख्यो ।

तीनै खेल जितेको इरानले ९ अंकसहित समूह विजेताको रूपमा अन्तिम चारमा स्थान बनायो भने दुई जित र एक हार बोकेको कजाखस्तान ६ अंकसहित उपविजेता बन्यो । यसअघि दिनको दोस्रो खेलमा समूह ‘ए’को भारतले किर्गिस्तान लाई सोझो सेटमा पराजित गर्दै शीर्ष स्थान सुरक्षित गरेको थियो । भारत समूह विजेता बनेपछि नेपाल उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो । अब दोस्रो सेमिफाइनलमा भारत र कजाखस्तान आमनेसामने हुनेछन् ।

नेपाल र इरानबीचको भिडन्तले भने विगतको प्रतिस्पर्धालाई फेरि स्मरण गराउने भएको छ । सन् २०२४ मा काठमाडौंमै सम्पन्न काभा महिला च्यालेन्ज कपमा यी दुई टोलीबीच दुई पटक भेट भएको थियो ।

लिग चरणमा नेपाल इरानसँग पराजित भएको थियो भने सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्दै इरानलाई हराएर फाइनल यात्रा तय गरेको थियो । गत वर्ष उज्वेकिस्तानमा भएको प्रतियोगिताको पहिलो संस्करणमा इरानले उपाधि जितेको थियो । प्रतियोगिताका दुवै सेमिफाइनल खेल जेठ १४ गते हुनेछन् ।