पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको दाउन्ने क्षेत्रमा गए रातिदेखि निरन्तर परेको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको हो ।
सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११:०० देखि बिहान ५:०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाम लागेको छ ।
त्यसैगरी, गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्तिलोकपथ पनि अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६:०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
प्रहरीले यात्रीलाई हेटौंडाबाट काठमाडौं जान अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।