इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भाषणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली संसद्लाई सम्बोधन गरे । इजरायल-गाजा युद्धलाई उल्लेख गर्दै ट्रम्पले यो क्षेत्र अहिले शान्त रहेको भन्दै सधैँभरि शान्ति रहने आशा व्यक्त गरे ।
ट्रम्पको सम्बोधनको क्रममा इजरायली संसदमा केही हंगामा भएको थियो । यस कारण ट्रम्पले केही समयका लागि आफ्नो भाषण रोक्नु परेको थियो । ट्रम्पको सम्बोधनका क्रममा एक इजरायली विपक्षी सांसदले प्यालेस्टाइनलाई मान्यता दिनुहोस् लेखिएको एउटा कागज देखाए । त्यसपछि ती विपक्षी सांसदलाई मर्यादापालकहरुले तुरुन्तै बाहिर निकाले ।
त्यसपछि ट्रम्पले आफ्नो भाषण पुनः सुरु गरे । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई धन्यवाद दिए । उनले इजरायल-हमास वार्तामा मध्यस्थता गर्ने अरब देशहरूलाई पनि धन्यवाद दिए । ʻमध्य पूर्वमा दशकौंदेखि यस क्षेत्रलाई सताउने अराजकता, आतंक र विनाशका शक्तिहरू अब कमजोर, एक्लो र पूर्ण रूपमा पराजित भएका छन्,ʼ ट्रम्पले भने ।
यस वर्ष तीन इरानी आणविक स्थलमा अमेरिकी आक्रमणको सन्दर्भमा ट्रम्पले यो बिना गाजामा शान्ति सम्झौता सम्भव नहुने बताए ।