टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए । तर पहिलो बलमै नेपालले ब्याटर कुशल भुर्तेललाई गुमायो । त्यसपछि कुशल मल्ल आएका थिए ।
मल्लले २ चौका हाने पनि नेपाललाई खेल जिताउन पर्याप्त भएन । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल बराबरी भएको थियो ।
अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा सन्दीप लामीछानेले २ विकेट र १ रन आउटसहित ३ विकेट लिएका थिए । तर अन्तिम बलमा २ रन चाहिएको अवस्थामा फैयाज बट रन आउट हुँदा खेल बराबरीमा रोकियो ।
नेपालका लागि करण केसी र सन्दीप लामीछानेले समान २-२,सोमपाल कामी, गुल्सन झा, विवेक कुमार यादव, अभिनाश बोहरा, समान १-१ विकेट लिए । त्यसअघि नेपालले कप्तान रोहित पौडेल र गुल्सन झाको अर्धशतकीय पारीको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
आइतबारको खेलमा गुल्सनले टी–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाए । उनले २० बलमा ४ छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।
नेपालका कप्तान रोहित पौडेलले टी–२० अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाउने क्रममा ३६ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे ।ओमानका लागि बलिङमा विलाल खानले ३, अकिव इलियासले २ र कप्तान जिसन मक्सुदले १ विकेट लिए ।