भक्तपुर क्यान्सर अस्पतालमा विकास समिति गठनादेश विपरीत व्यवस्थापन समितिको बैठक

साजना तामाङ , काठमाडौँ
२०८२ साउन २६ गते
भक्तपुर क्यान्सर अस्पतालमा विकास समिति गठनादेश विपरीत व्यवस्थापन समितिको बैठक

 

भक्तपुर क्यान्सर अस्पताल विकास समितिको बैठकलाई लिएर नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) ले आपत्ति जनाएको छ । यसैसाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट १२औ तहका प्रा.डा. श्रीकृष्ण श्रेष्ठलाई नियुत्त गरिएपछि आज अस्पताल विकास समितिको पहिलो बैठक बसेको हो । डा. दिपेन्द्ररमण सिंहले गत फाल्गुनमा सेवाबाट अवकास पाएपछि खाली रहेको अस्पतालको विकास समिति अध्यक्षमा श्रेष्ठ नियुक्त भएका हुन ।

भक्तपुर अस्पताल विकास समिति गठनादेश -२०७७ अनुसार नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) का तीनजना प्रतिनिधि समितिमा रहने व्यवस्था विपरीत आफूहरुलाई थाहै नदिइँ विकास समितिको पहिलो बैठक बसेको भन्दै नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले आपत्ति जनाए ।

“भक्तपुर क्यान्सर अस्पतालको विषयलाई लिएर संस्थाले हालेको मुद्दा लामो समयदेखि सर्वोच्च अदालतमा रहेको अवस्थामा हामीले गत मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सो मुदा फिर्ता लिने सहमति गरी, भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठनादेश-२०७७ मा व्यवस्था भएअनुरुप संस्थाले तोकेका तीनजना (एक महिला सहित) प्रतिनिधि अस्पताल व्यवस्थापन समितिमा पठाउने द्विपक्षीय समझदारीमा हस्ताक्षर गरेका छौं । मन्त्रालयसँग भएको समझदारी पश्चात संस्थाले म स्वयं, प्रा. डा. प्रदिपराज वैद्य र महिलातर्फ संस्थाको धनकुटा शाखा सभापति तथा डा. सम्पदा श्रेष्ठलाई समिति सदस्यमा पठाउने निर्णय गरी मन्त्रालयमा जानकारी समेत गराई सकेका छौ । आज विकास समितिको बैठक बसेकोबारे संस्थाका कुनै पनि सदस्यलाई खबर भएन्”, अध्यक्ष श्रेष्ठले भने । अस्पताल स्थापना गरी आजको अवस्थासम्म ल्याइ पुर्याउनमा आफुहरुले खेलेको अहम भूमिकालाई अवमूल्यन गरीएको एनसीआरएसका केन्द्रीय अध्यक्ष श्रेष्ठको भनाई छ ।

अस्पताल प्रशासनले आज विशेष कार्यक्रमको आयोजना गरी अध्यक्ष प्रा.डा. श्रेष्ठसँगै समाजसेवी कोटाबाट अस्पताल व्यवस्थापन समितिमा मनोनित सदस्य संगिता फुयाल र विज्ञ कोटाबाट व्यवस्थापन समिति सदस्य मनोनित प्रा. डा. अभिमन्यू झालाई पनि स्वागत गरेको अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकरी दिए । संस्थाको प्रतिनिधिका विषयमा मन्त्रालयबाटै नामावली आउने होला, भन्ने बुझाइका कारण अल्मलको अवस्था आएको उनले बताए । आज नै विकास समितिको बैठक पनि बसेकाे छ ।

भक्तपुर अस्पताल विकास समिति गठनादेश – २०७७ मा क्यान्सर रोगको रोकथाम, निदान, उपचार र प्यालिएटिभ सेवाको लागि उच्चस्तरीय तथा गुणस्तरीय सेवा प्रदान गर्ने कार्यकालागि अस्पतालको सञ्चालन तथा व्यवस्थापन गर्न विकास समिति रहने व्यवस्था गरेको छ । अस्पताल विकास समितिमा स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सेवाको १२औं तहको कर्मचारी अध्यक्ष रहने व्यवस्था छ ।

यस्तै सदस्यहरुमा भक्तपुर नगरपालिकाका प्रमुख, भक्तपुर अस्पतालका प्रमुख, मन्त्रालयले तोकेको प्रथम श्रेणीको अधिकृत एकजना, समाजसेवी मध्येबाट मन्त्रालयले मनोनित गरेको महिला सहित दुईजना, नेपाल अर्बुद रोग निवारण संस्थाबाट एक महिला सहित तीनजना, मन्त्रालयले मनोनित गरेको क्यान्सर चिकित्सक एकजना र  कार्यकारी निर्देशक-सदस्य सचिव एक जना गरी ११ जनाको समिति रहने व्यवस्था रहेको छ । नेपालमा क्यान्सर रोग विरुद्धको अभियानमा लागि परेको संस्था वि.स. २०३९ मा स्थापना भएको हो ।  नेपाल अर्बुद रोग निवारण संस्थाको अगुवाइमा वि.स. २०५१ सालमा भक्तपुर क्यान्सर अस्पताल स्थापना भएको थियो ।