जेनजी प्रदर्शनकको दोस्रो दिन राजनीतिक दलका नेता र मन्त्रीका घर तथा सरकारी कार्यायहरुमा ढुंगामुढा प्रहार सुरु भएको छ । काठमाडौं उपत्यका र बाहिरका जिल्लाहरूमा पनि प्रदर्शनकारी नेता र मन्त्रीका घरमा ढुंगा प्रहार र आगजनिमा उत्रिएका हुन् ।
केहिबेर अघि प्रदर्शनकारीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा प्रवेश गरेका छन् ।
प्रदर्शनकारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरमा रहेको घरमा आगजनी गरेका छन् । त्यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन् ।
हिजो गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकको घरमा पनि ढुंगा प्रहार गरिएको छ । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पनि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन् ।