६ महिनामा नेपालले एक अर्ब ७६ करोडको सिमेन्ट बेच्यो

Yangle News
Yangle News
२०८० माघ ७ गते
६ महिनामा नेपालले एक अर्ब ७६ करोडको सिमेन्ट बेच्यो

 

चालु आर्थिक वर्षमा निर्माण सामग्री सिमेन्ट र अर्ध-तयारी सिमेन्ट (क्लिंकर) को निर्यात उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा एक अर्ब ७६ करोड ३३ लाखको सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

गत १२ महिनामा ७७ करोड ९३ लाख रूपैयाँको मात्रै सिमेन्ट र क्लिंकर निर्यात भएको थियो । यो वर्ष ६ महिनामै १२६ प्रतिशतले निर्यात बढीसकेको देखिएको छ ।

६ महिनामा नेपालबाट १६ लाख ७२ हजार ३६८ टन सिमेन्ट र क्लिंकर निर्यात भएको छ । अहिले भारतीय बजारमा नेपालका सात वटा ब्रान्डका सिमेन्ट बिक्री भइरहेका छन् । अर्घाखाँची, पाल्पा र सर्वोत्तम सिमेन्टले ठाउँठाउँमा भित्ते विज्ञापन समेत सुरू गरेका छन् । सिमेन्टको निर्यात गत वर्षबाट सुरू भएकोमा अहिलेसम्म दुई अर्ब ५३ करोडको निर्यात भइसकेको छ ।