गुगलको मूख्य कम्पनी अल्फाबेट इंकले सोमबार एआईमा आधारित च्याटबट सार्वजनिक गरेको छ । पछिल्लो समय विश्व बजारमा ओपनएआईको च्याटजीपीटीले निकै चर्चा बटुली रहेकाे छ । यस्तोमा गुगलले च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने योजनाका साथ ‘बार्ड’ नाम दिएर नयाँ च्याट बट सार्बजनिक गरेको हो ।
एक ब्लग पोस्ट मार्फत गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले उनको कम्पनीले बार्ड नामक एक इन्टर्याक्टिभ एआई सेवा ल्याउने बताएका छन्। गुगलले च्याटजीपीटी सँग प्रतिस्प्रधा गर्ने आर्टिफिसियल इन्टेलिजेन्स द्वारा (एआई) संचालित च्याटबोट ‘बार्ड’ सोमबार लन्च भए पनि सर्वसाधारणका लागि आगामी हप्ता उपलब्ध हुने बताइएको छ ।
नोभेम्बर ३१, मा सार्वजनिक भएको ओपन एआईको च्याटबट च्याटजीपीटीले छोटो समयमै चर्चा पाएको छ । सार्वजनिक भएको एक हप्तामै च्याटजीपीटीमा १० लाख सक्रिय प्रयोगकर्ता पुगेका थिए । एआईमा आधारित च्याटजीपीटीको लोकप्रियता बढेसँगै गुगललाई सर्च इन्जिन विस्थापित हुने डर थियो । यही जोखिमलाई मध्यनजर गर्दै गुगलले च्याटजीपीटी जस्तै लार्ज ल्याङ्ग्वेज मोडेलमा तयार पारेको बार्ड ल्याएको विश्लेषकहरूको भनाइ छ ।
बार्डलाई इन्टेलिजेन्ट, क्रियटिभ बनाइएको सुन्दर पिचाइको भनाइ छ । ब्लगमा उनी लेख्छन्, “यसले वेबबाट जानकारी प्राप्त गरी ताजा, उच्च गुणस्तरका प्रतिक्रियाहरू प्रदान गर्छ ।”
माइक्रोसफ्टले च्याटजीपीटीकै कारण ओपन एआईमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । यसका साथै माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन ‘बिङ’मा समेत च्याटजीपीटी इन्ट्रिगेट गर्ने तयारी गरिरहेकाे उल्लेख छ । हाल गुगल, बिङ जस्ता सर्च इन्जिनले कुनै पनि प्रश्न वा जिज्ञासाका लागि लिङ्क उपलब्ध गराउँछ । प्रयोगकर्ता त्यही लिङ्कमा गएर आफ्नो आवश्यकता अनुसारका जानकारी लिन सक्छन् । तर, च्याटजीपीटीमा भने प्रश्न राखेकै भरमा भरपर्दो उत्तर पाउन सकिन्छ । यो टुल बिङमा इन्ट्रिगेट भएपछि उक्त सर्च इन्जिनका प्रयोगकर्ता बढ्ने निश्चित छ ।
च्याटजीपीटीका कारण गुगलको यो परियोजना चर्चामा आएको भए पनि यसको विस्तारका लागि गुगल लामो समयदेखि गृहकार्य गरिरहेको थियो । दुई वर्षअघि गुगलले सार्वजनिक गरेको डायलग एप्लिकेसन जसलाई लाम्दा (LaMDA) मा समेत बार्ड समावेश गरिने कम्पनीको भनाइ छ ।
स्रोत : बीबीसी