भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माणको काम सम्पन्न भएको छ । प्रसारणलाइन क्षेत्रका स्थानीयको अवरोध र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १३ वर्षमा काम सम्पन्न भएको हो । चितवनको न्यु भरतपुर सबस्टेसनबाट सुरु भएर पूर्वी नवलपरासी हुँदै पश्चिम नवलपरासीको बर्दघाटसम्म पुग्ने प्रसारणलाइन ७४ किलोमिटर लामो छ ।
नेपाल विद्युत् प्राधिकरणका सिस्टम अपरेसन डाइरेक्टर तथा सूचना अधिकारी सुरेसबहादुर भट्टराईले प्रसारणलाइनको काम सम्पन्न भएर विद्युत् प्रवाह सुरु भइसकेको बताए । २२० केभी डबल सर्किट प्रसारणलाइन भएपनि सुरुवाती चरणमा १ सय ३२ केभीमा सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ । यो प्रसारण लाइनमा १ हजार मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्ने क्षमता छ ।
२०६७ कात्तिकमा सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनमिक एन्ड ट्रेड कम्पनीसँग ठेक्का सम्झौता भएर २०७२ पुसमा निर्माण सम्पन्न हुनुपर्ने थियो, तर रुख कटानमा ढिलाई, पूर्वी नवलपरासीको विनय त्रिवेणी दुम्कीबासका स्थानीयको लगातार अवरोध, अदालतमा मुद्दा दायर हुँदा कामले गति लिन सकेको थिएन ।
एकातर्फ स्थानीयको अवरोध तथा अर्कोतर्फ म्याद थप गर्दा समेत ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै २०७४ जेठमा सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनमिक एन्ड ट्रेड कम्पनीसँग ठेक्का सम्झौता रद्द गरेर प्राधिकरणले नयाँ टेण्डर आवहान गरेको थियो । सोही अनुसार चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा दोस्रो ठेक्का सम्झौता भएको थियो ।