नेपालले त्रिदेशीय फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि २-१ को जित हासिल गरेको छ । जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उपविजेता बनेको छ ।
सोमबार सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सम्पन्न खेलमा दुई गोलले पछाडि परेको अवस्थामा भारतका लागि फरवार्ड करिष्मा पुरुषोत्तम सिर्भोइकारले एक गोल फर्काइन् । नेपालले पहिलो खेलमा इरानसँग ३-० को हार बेहोरेको थियो । पहिलो खेलमा इरानसँग २-० ले हारेको भारतले कुनै पनि अंक जोड्न सकेन ।
सावित्राले खेलको दोस्रो मिनेटमै सेन्टरब्याक विमला विकको लामो दूरीको पासलाई सदुपयोग गर्दै नेपाललाई अग्रतामा ल्याइन् । सावित्राले सुरुमा छातीबाट बललाई नियन्त्रणमा लिइन् । अनि गोलकिपर इलाङबाम पान्थोइ चानु अगाडि बढेको मौकाको फाइदा उठाउँदै बललाई दोस्रो बारको जाली चुमाइन् ।
खेलको १४औं मिनेटमा भारतले पहिलो खतरा बुन्यो । फरवार्ड स्लिन्डा कोमको पासमा रक्षक रञ्जना चानुले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलकिपर अञ्जना रानामगरले बचाइन् ।
निर्धारित हाफ सकिन दुई मिनेट बाँकी छँदा नेपालको गोलमा पान्थोइ चानु बाधक बनिन् । मिडफिल्डर दीपा शाहीले दिएको सुन्दर थ्रु पासलाई सावित्राले सुन्दर तरिकाले नियन्त्रणमा लिएकी थिइन् । तर, दोस्रो बारमा गरेको लोअर प्रहार पान्थोइ चानुले बचाइन् । लगत्तै विमलाले ‘डिफेन्सिभ लाइन’बाट गरेको लामो दूरीको प्रहार पनि पान्थोइ चानुले बचाइन् ।
खेलको ६३औं मिनेटमा सावित्राले सनसनीपूर्ण फ्रिकिक गोल गरिन् । करिब २५ यार्ड परबाट सावित्राले गरेको प्रहारबाट बलले जाली चुम्यो । यसअघि कप्तान संगिता बास्फोरेबाट मिडफिल्डर प्रीति राई फउल हुन पुगेपछि नेपालले फ्रिकिक अवसर प्राप्त गरेको थियो । खेलको ७६औं मिनेटमा दीपाको कर्नरमा बिमलाको हेडर क्रसबारभन्दा माथिबाट बाहिरिँदा नेपालले तीन गोलको अग्रता बनाउन सकेन ।
भारतविरुद्ध आजको खेलका लागि आज प्रशिक्षक नविन न्यौपानेले टोलीमा ३ परिवर्तन गरेका थिए । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना, हिराकुमारी भुजेलको स्थानमा मनमाया नेपाली र निशा थोकरको स्थानमा दीपा शाहीले सुरुवाती ११ मा स्थान बनाएका थिए ।
अब नेपालले सिक्किममा बिहीबार भारतसँगै मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।