सरकारले आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका निम्ति औपचारिक प्रक्रिया सुरु गरेको छ । शुक्रबार (चैत २०) बजेट लेखन समिति गठन गरिएको हो ।
आउँदो वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्न र त्यसका सिद्धान्त तथा प्राथमिकता तय गर्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित समिति बनाइएको छ । राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीलाई समितिको संयोजक तोकिएको छ ।
समितिलाई आउँदो आर्थिक वर्षको बजेटको पूर्ण खाका तयार गर्ने जिम्मेवारी दिइएको छ । समितिले अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा पेस गर्ने बजेट वक्तव्यको पूर्ण मस्यौदा तयार गर्ने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।
समितिले सरकारको वार्षिक नीति तथा कार्यक्रमका निम्ति आवश्यक रचनात्मक सुझावसमेत उपलब्ध गराउनेछ । ‘समितिले संसद्का दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा लेखन गर्नेछ,’ पाण्डेयले भने, ‘आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्नेछ ।’
समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखलाई सदस्यका रूपमा समावेश गरिएको छ । उनीहरूले बजेटका विभिन्न प्राविधिक पक्षमा सहयोग गर्नेछन् । समिति सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल छन् ।
समितिले संघीयताको मर्म र आर्थिक नीतिको विश्लेषण गर्दै आउँदो वर्षको आर्थिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ । अर्थमन्त्री वाग्लेले पदग्रहण गर्ने क्रममा आउँदो आर्थिक वर्ष रूपान्तरणकारी बजेट ल्याउने बताएका थिए ।