प्रधानमन्त्री बालेनले भोली सामना गर्नेछन् ११ सांसदको प्रश्न

Yangle News
Yangle News
२०८३ भदौ ९ गते
प्रधानमन्त्री बालेनले भोली सामना गर्नेछन् ११ सांसदको प्रश्न

काठमाडौं । भोली बुधबार प्रतिनिधिसभाको बैठकमा ११ जनाको प्रश्नको उत्तर प्रधानमन्त्री बालेन शाहले दिदैछन् ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न सोध्ने संसद् सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्ने भएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्ना यता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न सोध्नेछन् ।

श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्नेछिन् ।

प्रश्न सोध्ने सांसदहरूले प्रश्न सोध्न चाहेको र के प्रश्न सोध्न चाहेको हो त्यो संसद् सचिवालयमा दर्ता गरिसकेका छन् ।

यसअघि भदौ १ गतेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका थिए ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।

प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा तीन दिन अगावै सभामुखलाई गराउनुपर्नेछ ।

यसअनुसार सभामुख अर्यालले प्रधनमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए । त्यसअनुसार ११ जना सांसदले प्रश्न दर्ता गरेका हुन् ।