निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आज प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागेर चुनाव सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान गर्न र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ । प्रतिवेदन अध्ययनपछि राष्ट्रपति पौडेलले अब प्रक्रिया अघि बढाउनेछन् ।
यसअघि आयोगले आजै समानुपातिकतर्फ निर्वाचित १ सय १० जना सांसदलाई प्रमाणपत्र वितरण पनि गरेको छ । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नौ सिट जिते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले समान चार/चार सिट पाए । प्रत्यक्षतर्फ जितेका १ सय ६५ जनाले यसअघि नै प्रमाणपत्र पाइसकेका छन् ।
यसैबीच प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । संघीय संसद् सचिवालयले आज यस पटकको चुनावमा राष्ट्रिय दल बनेका ६ वटा दलका प्रतिनिधिसँग छलफल गर्दै यही १२ गते दिउँसो २ बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जानकारी गराएको हो । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार पहिलो ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि उनले बाँकी सांसदलाई शपथ गराउनेछन् ।