मसलखर्क (संखुवासभा)- संखुवासभामा ५ दलीय गठबन्धनबाट प्रतिनिधिसभाका साझा उम्मेद्वार दीपक खड्काले आफूले मादी नगरपालिकाको मंगलबारेबाट मुलखर्क जोड्ने सडक निर्माण गर्दा एमालेले अख्तियारमा उजुरी गरेर दु:ख दिन खोजेको बताएका छन्।
मादी नगरपालिका-३ मुलखर्कमा आयोजित गठबन्धन भेलालाई सम्बोधन गर्द खड्काले भने, ‘मुलखर्क जोड्ने सडक निर्माण गर्दा भ्रष्टाचार भयो भनेर एमालेका साथीहरूले दु:ख दिने प्रयास गरे।’
आफूहरूले ०७० देखि ०७४ सालसम्म सडक, विद्यालय, खानेपानीलगायत पूर्वाधारको खाका कोरेको र ०७४ सालमा निर्वाचित एमालेका जनप्रतिनिधिले ती सबै आयोजना धमाधम रद्द गराएको उनले बताए।
‘मादीका मतदाताले ०७० देखि ०७४ र ०७४ देखि ०७९ सम्मका दुई कार्यकाललाई मूल्यांकन गरिदिए पुग्छ,’ उनले भने, ‘हामीलाई जिताइदिनुस्, यहाँको विकास निर्माणको जिम्मा हामी लिन्छौं।’
संखुवासभा प्रदेश ‘ख’मा प्रत्यक्षतर्फकी उम्मेद्वार तथा एकीकृत समाजवादी नेतृ सरिता थापा खड्काले आफूले समानुपातिक सांसद छँदा मादीको विकास निर्माणका गरेका कामहरूबारे जानकारी दिइन्।
२०५१ सालमा यही क्षेत्रमा कांग्रेसले पीयूष दाहाललाई उम्मेद्वार बनाएर महिलालाई अगाडि बढाउन खोजेको र संखुवासभामा आफू प्रत्यक्षतर्फ दोस्रो महिला उम्मेद्वार भएको उनले उल्लेख गरिन्। उनले भनिन्, ‘त्यतिबेला कांग्रेसले पीयूष दाहाललाई कांग्रेसले उम्मेद्वार बनाएको थियो, अहिले कांग्रेससहितको गठबन्धनले मलाई उम्मेद्वार बनाएको छ।’