दुई महिनापछि हेटौँडा सिमेन्ट उद्योगले थाल्यो उत्पादन

Yangle News
Yangle News
२०८० असार ६ गते
दुई महिनापछि हेटौँडा सिमेन्ट उद्योगले थाल्यो उत्पादन

 

हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’ को उत्पादन पनि सुरु गरेको जनाएको छ ।

क्लिङ्कर उत्पादनका लागि चाहिने आगो बाल्ने भट्टीमा विभिन्न उपकरण बिग्रिनुका साथै कोइलाको अभाव भएकाले दुई महिनायता सिमेन्ट उत्पादन बन्द गर्नुपरेको थियो । बिग्रिएका उपकरण मर्मत गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योग व्यवस्थापनले जनाएको छ ।

उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगले बोलपत्र आह्वान गरेर भारत,  इन्डोनसिया र भुटानबाट गुणस्तरीय कोइलाको आपूर्ति गरेको बताए । उनले प्रथम र दोस्रो चरणमा गरी १८००  मेट्रिक टन कोइला आइसकेकाले आजैबाट उत्पादन सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार बाँकी १२००  मेट्रिक टन कोइला यही असार मसान्तभित्र आपूर्ति हुनेछ । महाप्रबन्धक पाण्डेले सिमेन्ट उद्योगलाई १६ हजार मेट्रिक टन गुणस्तरीय कोइला आवश्यक पर्ने भए पनि आर्थिक अभावका कारण एकै पटक कोइला खरिद प्रक्रिया अगाडि बढाउन कठिनाइ उत्पन्न भएको उल्लेख गरे ।

हेटौँडा सिमेन्ट उद्योगमा चार दशक पुराना उपकरण रहेकाले बेलाबेला ती उपकरण बिग्रिएर मर्मत गर्नुपर्ने भएकाले उत्पादन बन्द गर्नुपरेको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

हेटौँडा सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि उत्पादन सुरु गरेको हो । उद्योगले सिमेन्ट उत्पादनका लागि नयाँ उपकरण खरिद गरी जडान गर्न र नयाँ प्रविधिसहित उद्योग सञ्चालन गर्न प्रधानमन्त्रीका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई पत्राचार गरी अनुरोध गरिएको महाप्रबन्धक पाण्डेले जानकारी दिए ।

293 views