जेनजी आन्दोलन : राज्यका ३ वटै अंग प्रदर्शनकारीको नियन्त्रणमा

Yangle News
Yangle News
२०८२ भदौ २४ गते
जेनजी आन्दोलन : राज्यका ३ वटै अंग प्रदर्शनकारीको नियन्त्रणमा

सोमबारबाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अंग नियन्त्रणमा लिएका छन् ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् । उनीहरुले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि मंगलबार अपिल गरिसकेका छन् ।

प्रदर्शनकारीहरुले सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत कब्जामा लिएर आगजनी गरेको छ । त्यस्तै, संघीय संसद भवन, सिंहदरबार, राष्टपति निवास, प्रधानमन्त्री निवास बालुवाटार, भैंसेपाटीस्थित मन्त्री निवासमा पनि आगो लगाइदिएका छन् । त्यसैगरी, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, पूर्वमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरुका निजी तथा सरकारी निवामा पनि आगजनी भएको छ । प्रधानमन्त्री र मन्त्रीहरुलाई सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा लगेका छन् ।

यसैबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न मन्त्रीहरुले राजीनामा दिएका छन् । अब संयमता अपनाउन र भौतिक सम्पत्तिमाथिको क्षति रोक्न प्रदर्शनकारीहरुलाई विभिन्न प्रवुद्ध व्यक्तिहरुले आह्वान गरेका छन् ।

यसैबीच नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि रिहा भएका छन् । कारागार प्रशासनले सुरक्षा दिन नसक्ने बताएपछि उनी थुनामुक्त भएका हुन् ।

प्रदर्शनका क्रममा आज पनि केही प्रदर्शनकारीको मृत्यु भएको छ भने घाइते हुनेको संख्या पनि उल्लेख्य रहेको छ । प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनी पत्नी परराष्ट्रमन्त्री आरजु राणालाई निवासमै निर्घात कुटपिट गरेका छन् । निवासमा आगजनी हुँदा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी सख्त घाइते भएकी छन् ।

यसका साथै सातै प्रदेशका विभिन्न सहर तथा जिल्लामा पनि जेनजी पुस्ताले उग्र प्रदर्शन गरेका छन् । मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन लगायतका सरकारी निकायहरु निशानामा परेका छन् ।