चिनियाँ नेता सियाओ काठमाडौंमा

Yangle News
Yangle News
२०८२ जेष्ठ १ गते
चिनियाँ नेता सियाओ काठमाडौंमा

चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका लागि बिहीबार राति काठमाडौं आइपुगेका छन् ।

उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म हुँदैछ ।

उपाध्यक्ष सियाओले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेट गर्नेछन् भने उपसभामुख इन्दिरा राना मगरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उहाँको सम्मानमा उपसभामुख रानाले आज साँझ रात्रिभोजको आयोजना गर्नेछिन् । उपाध्यक्ष सियाओले काठमाडौंका बौद्धनाथ, स्वयम्भूनाथ, वसन्तपुर दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको संघीय सांसदका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।

प्रतिनिधि मण्डल भ्रमण सम्पन्न गरी जेठ ३ गते दिउँसो चीन फर्कने कार्यक्रम रहेको छ ।