नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले सरकार अल्पमतमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ती दलका सांसदहरुले असार १७ गते कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा दाहाल नेतृत्वको सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय गर्न नहुनेमा जोड दिएका छन् ।
कांग्रेस सांसद रामहरि खतिवडाले वर्तमान सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बहुमत गुमाएको अहिलेको सरकार पदमा रहनु अशोभनीय भएको टिप्पणी गर्दै राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न आग्रह गरे ।
यस्तै सांसद रघुजी पन्तले बहुमत गुमाएका प्रधानमन्त्री दाहालको राजीनामा माग गरे । सांसदहरु बलमपाकी मगर, मैना कार्की र मेनकाकुमारी पोखरेलले अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताएका थिए । उनले अब बन्ने सरकारलाई काम गर्न वातावरण सृजना गर्नुपर्ने बताएका थिए ।
नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले भने विश्वासको मतको प्रस्ताव प्रस्तुत भएर असफल भएपछि प्रधानमन्त्री एक मिनेट पनि पदमा नबस्ने र संविधानअनुसार सरकार अघि बढ्ने स्पष्ट पारे ।
सांसद बुद्धिमान तामाङले मुलुकमा बाढी, पहिरा र डुबानमा मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोजीकार्य तीव्र पार्न ध्यानाकर्षण गराएका थिए ।
सांसद महेन्द्रकुमार राय, सांसद मानवीर राई, सांसद मुक्ताकुमारी यादवले प्रकोपका कारण विस्थापितलाई राहत, क्षतिपूर्ति र बसोबासको व्यवस्थापन गर्न माग गरेका थिए ।