एन्फाको प्रष्टीकरण- प्रशिक्षक वाइल्डका कारण विवाद भएको हो

Yangle News
Yangle News
२०८२ असार २५ गते
एन्फाको प्रष्टीकरण- प्रशिक्षक वाइल्डका कारण विवाद भएको हो

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डका कारण कप्तान चयनमा विवाद भएको जनाएको छ ।

एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तान गएको नेपाली टोलीका अफिसियलहरुले आज एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै कप्तान चयनमा प्रमुख प्रशिक्षक प्याट्रिक एकतर्फी ढंगले अघि बढ्दा विवाद भएको जनाएका हुन् ।

टिम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले काठमाडौंमा नै खेलाडी बिदाइ कार्यक्रममा कप्तान चयन गर्न प्रस्ताव गर्दा प्याट्रिकले असहमति जनाएको बताइन् । उनले एएफसी एसियन कप छनोटको पहिलो खेलको केही समयअघि समेत कप्तानसहितको टिम लिस्ट नआएपछि आफूहरूले पटक-पटक आग्रह गर्दा ५ मिनेटअघि मात्रै टिमको नाम लिस्ट आएको जिकिर गरिन् । तर त्यसमा कप्तानको नाम नभएकाले सिनियर खेलाडीको रुपमा रेनुका नगरकोटीको नाम राखेर लिस्ट एएफसीलाई पठाएको उनको भनाइ छ । उनले प्रशिक्षक प्याट्रिक नेपाल फर्कने वा नफर्कने भन्ने बारेमा अनविज्ञ रहेको बताएकी छन् ।

प्रशिक्षक वाइल्डले सञ्चारमाध्यममा कुराकानी गर्दै फुटबलको विकासभन्दा पहिले व्यवस्थापन सुधारिनु पर्ने बताएका थिए । सो क्रममा उनले एन्फा नसुध्रे आफू नेपाल नफर्कनेसमेत बताएका छन् । छनोट खेलपछि उनी उज्वेकिस्तानबाटै बेल्जियम गएका छन् ।

बेल्जियमका नागरिक वाइल्डलाई एन्फाले एएफसी एसियन कप-२०२६ अस्ट्रेलियामा पुर्‍याउने लक्ष्यसहित नियुक्त गरिएको थियो । उनी छनोट खेल्न उज्बेकिस्तान पुग्नुभन्दा २२ दिन अगाडि मात्रै नेपाल आइपुगेका थिए ।