अरुण नदीमा पानीको बहाव बढ्दा तटीय क्षेत्रमा जोखिम

Yangle News
Yangle News
२०८० जेष्ठ ३२ गते
अरुण नदीमा पानीको बहाव बढ्दा तटीय क्षेत्रमा जोखिम

 

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।

वैशाख १७ गते पहिरो खसेर अरुण तेस्रोको डाइभर्सन टनेल थुनिएको थियो । डाइभर्सन टनेल थुनिएपछि बनेको अरुण नदीको अस्थायी तालको पानीले नयाँ बस्तीको पहाड कटान गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेपछि अस्थायी बाँधको नयाँ बस्तीतिर कटान गरेर अरुण बग्न थालेपछि नदी किनार आसपासका बस्तीमा जोखिम बढेको हो । सो बाँध अरुण नदीले आफैँ कटान गरेर खोल्न थालेपछि नदी किनार आसपासका बस्तीमा जोखिम बढेका कारण सतर्क रहन सुरक्षा निकायमार्फत जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।

नदी  थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो । २६ मिटर अग्लो बाँधमा पानी जमेपछि करिब तीन किलोमिटरसम्म ताल बनेको छ । अरुण नदीलाई बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइभर्सन टनेलमार्फत मोडिएको थियो ।

आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध बाधेर डाइभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो । जिल्ला प्रहरी कार्यालयले अरुण नदीको तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रहसमेत गरेको छ ।

425 views