कोशी लोकमार्ग र तमोर करिडोर अवरुद्ध

Yangle News
Yangle News
२०८२ जेष्ठ १७ गते
कोशी लोकमार्ग र तमोर करिडोर अवरुद्ध

शुक्रबार रातिदेखि परेको पानीसँगै आएको बाढीले कोशी लोकमार्ग अवरुद्ध भएको छ । धरान-धनकुटा सडकखण्डअन्तर्गत धनकुटाको साँगुरीगढी-६, लेउती खोलामा आएको बाढीले सडक कटान गरेका कारण लोकमार्ग अवरुद्ध बनेको हो ।

सडक १०० मिटरजति कटान भएकाले दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीका अनुसार प्रहरीले बाटो खुलाउन समन्वय गरिरहेको छ ।

यस्तै कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी- ६ स्थित नमस्ने झरनानजिक सडकमा रुख ढलेका छन् । प्रहरी र सेनाको टोली खटिएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि रातिदेखि नै यात्रुहरु बिचल्लीमा परेका छन् ।

बिहीबार राति मनसुन भित्रिएसँगै कोसी प्रदेशमा त्यसको प्रभाव परेको छ । यस वर्ष साविकभन्दा १५ दिन छिटो मनसुन भित्रिएको हो । सिक्किम, पश्चिम बंगाल भएर आउने मनसुन नेपालमा पूर्वी क्षेत्रबाट भित्रिने गर्दछ । यसपटक मनसुन अवधिभर सरदरभन्दा अधिक वर्षा हुने बताइएको छ ।