झन्-झन् बढ्दै नेपाल ओलम्पिक कमिटीमा विवाद

Yangle News
Yangle News
२०८२ भदौ १७ गते
झन्-झन् बढ्दै नेपाल ओलम्पिक कमिटीमा विवाद

ओलम्पिक कमिटी अफ एसिया (ओसीए)ले नेपाल घोड्चढी संघका अध्यक्ष रवि राजकर्णिकार र नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ ।

ओसीए कार्यकारी बोर्डको अगस्ट २८ मा बसेको बैठकले एथिक्स कमिटीको निर्णय र सिफारिसका आधारमा राजकर्णिकार र श्रेष्ठलाई दुई वर्ष ओसिएसँग सम्बन्धित कुनै पनि गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाएको हो । दुवै एनओसी तदर्थ समितिका सदस्य पनि हुन् ।

ओसीए इथिक्स कमिटीका अध्यक्ष देवेन्द्रनाथ सारंगीले राजकर्णिकार र श्रेष्ठलाई पत्र लेख्दै निलम्बनको जानकारी गराएका छन् । यो निर्णय तत्कालै कार्यान्वयनमा आउने उल्लेख गरिएको छ ।

यसैगरी जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटी र सम्बन्धित खेल संघलाई पनि बोधार्थ गरी पत्र लेखिएको छ । एओसीले यसअघि पनि उनीहरूलाई ९० दिनको प्रतिबन्ध लगाएको थियो ।

यसअघि, ओसीएले तदर्थ समितिका अध्यक्ष ध्रुवबहादुर प्रधानलाई आफ्नो लोगोको दुरुपयोग नगर्न चेतावनी दिएको छ । ओसीएका महानिर्देशक हुसेन अल मुसल्लमले आइतबार प्रधानलाई पत्र लेख्दै उनले एनओसीको लेटरहेडमा ओसीएको लोगो प्रयोग गर्नु अवैधानिक रहेको र त्यसलाई तत्काल नरोके कानूनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइओसी तथा एनओसीलाई समेत सिसी गरिएको पत्रमा प्रधानलाई सम्बोधन गर्दै हुसेनले लेखेका छन्, ‘तपाईंले आफ्ना चिठीपत्रमा नेपाल ओलम्पिक कमिटीको लेटर हेडमा ओसिएको लोगोको प्रयोग गर्नु अवैधानिक रहेको आधिकारिक रुपमा जानकारी गराउन चाहन्छौं । यो आधिकारिक चेतावनी पनि हो, तपाईंले ओसिएको लोगो प्रयोग गर्न नछोडे ओसिएले आवश्यक कानूनी कार्वाही गर्नेछ ।’

एनओसीको पूर्वअध्यक्ष प्रधानको संयोजकत्वमा यही भदौ ४ गते एनओसीको ९ सदस्यीय तदर्थ समिति घोषणा गरिएको थियो । सरकारको प्रत्यक्ष समर्थनमा गठित एनओसी तदर्थ समितिले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसी अवैधानिक भएको जिकिर गर्दै आफूहरुले नै नेपालमा ओलम्पिक अभियान सञ्चालन गर्ने दाबी गरेको थियो ।