क्यान्सर रोगीको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले नेपाल अर्बुद रोग निवारण संस्थाले पदयात्रा कार्यक्रमको आयोजना गर्ने भएको छ । संस्थाको ४१ औं वार्षिकोत्सवको अवसरमा क्यान्सर रोग सम्बन्धी सचेतना जगाउने उद्धेश्यका साथ भदौ ३० गते, शनिबार पदयात्रा कार्यक्रमको आयोजना गर्न लागेको हो ।
“क्यान्सर रोगबाट बच्ने उपाय र विधि बारेमा चेतना जगाउने, पीडित परिवारका सदस्यहरुको व्यवस्थापनमा सहयोग गर्नुका साथै देशव्यापी अभियानका रुपमा क्यान्सर रोगबाट बच्नका लागि अपनाउनु पर्ने सावधानीका साथै उपचारमा सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।
इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा आयोजना हुने उक्त पदयात्रा काठमाण्डौंको खुल्लामञ्चबाट सुरु भई भद्रकाली- सिंहदरबार- माइतीघर-थापाथली-टेकू- परोपकार-काष्ठमण्डप- दरबार स्क्वायर- न्यूरोड गेट- रानी पोखरी- दरबार मार्ग हुँदै खुल्लामञ्चमा आएर समापन हुनेछ । कार्यक्रम अन्तरगत विभिन्न किसिमका रोग र यसबाट बच्न अपनाउनु पर्ने सावधानी तथा रोकथामका विषयमा परामर्श दिने, रक्तदान, सांगितिक कार्यक्रम समेत रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् । कार्यक्रममा विभिन्न किसिमका स्वास्थ्य परीक्षण पनि गराइनेछ ।
“स्टेपिङ फरवार्ड फर अ क्यान्सर” भन्ने नाराका साथ आयोजना हुने पदयात्रा कार्यक्रमबाट आर्थिक सहयोग संकलन गरी संस्थाको कार्यालय रहेको स्थानमा क्यान्सर डाइग्नोस्टिक सेन्टर स्थापनाको काम सुरु गर्ने उनले जानकारी दिए । पाँच हजार जनाको सहभागीता रहने अनुमान गरिएको कार्यक्रमका सहभागीबाट सहयोग स्वरुप संकलित रकम संस्थाको निर्माणधीन भवनमा क्यान्सर डाइग्नोस्टिक सेन्टरको पुर्वाधार निर्माणमा लगानी हुनेछ ।
पदयात्रामा सहभागी हुनेहरुले प्रतिव्यक्ति एक हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदा टीशर्ट, क्याप, ब्याच र फूड प्याकेज पाउनेछन् । कार्यक्रमको पेमेण्ट पार्टनर आईएमई पे मा लगइन गरेर पदयात्रामा सहभागी हुनका लागि टिकट खरिद गर्न सकिने इभेण्ट सोलुसनले जनाएको छ ।
समाज सेवाको यो अभियानमा सहभागी भई आर्थिक सहयोग उपलब्ध गराउन संस्थाका अध्यक्ष श्रेष्ठले आम नागरिक, सम्बद्ध संघ संस्था लगायतलाई आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संरक्षकत्व तथा काठमाण्डौं महानगरपालिकासँगको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमलाई तीन दर्जन बढी संस्थाहरुले सहयोग गरेका छन् ।
नेपाल अर्बुद रोग निवारण संस्थाले नेपालमा क्यान्सर रोगको रोकथामका लागि चेतना अभिवृद्धी सम्बन्धी कार्यक्रमका साथै क्यान्सर रोगीको उपचारमा सहयोग पुर्याउँदै आएको छ । २०३९ सालमा गैर नाफामूलक र समुदायमा आधारित राष्ट्रिय तहको सामाजिक संस्थाका रुपमा स्थापित यस संस्थाले देशका ४५ जिल्लामा शाखा विस्तार गरिसकेको छ ।
नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथामका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाल अर्बुद रोग निवारण संस्थाले सूर्तिजन्य पदार्थहरुको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई सहयोग पुर्याउँदै आएको छ ।