प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफलमा भाग लिँदै ओलीले देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको उनले बताए ।
दुई महिना पुग्दानपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको मुटु प्रत्यारोपण गर्नतिर लागेको भन्दै उनले विशाल हृदयका साथ आफूले नीति तथा कार्यक्रमको दस्तावेज सुनेको र पढेको बताए ।
यसअघि ओलीले सरकारको नीति तथा कार्यक्रम अस्वीकार गर्न आफ्नो दलका सांसदलाई निर्देशन दिएका थिए । एमाले संसदीय दलको प्रशिक्षणमा ओलीले नीति तथा कार्यक्रमको विरोधमा सशक्त उपस्थिति देखाउन पनि निर्देशन दिएका हुन् । । एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम समर्थन योग्य नरहेको टिप्पणी गरेका थिए ।
प्रशिक्षणमा ओलीले सदनमा आफ्नो दलका सांसदको उपस्थिति कमजोर रहेको पनि बताएका थिए । नीति तथा कार्यक्रमले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक कुनै पनि समस्या पहिचान गर्न नसकेको ओलीको भनाइ छ । सदनमा सांसदलाई सक्रिय बनाउने, नीति तथा कार्यक्रममा समस्या भएकाले विरोध गर्ने निर्देशन नेतृत्वबाट पाएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।