विश्व ट्रेल रनमा नेपाललाई ऐतिहासिक सफलता

Yangle News
Yangle News
२०८२ अशोज १२ गते
विश्व ट्रेल रनमा नेपाललाई ऐतिहासिक सफलता

तेस्रो संस्करणको विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । प्रतियोगितामा सुनमाया बुढाले दोस्रो स्थान हात पारेकी छन् ।

स्पेनको क्यान फ्रान्कमा भएको प्रतियोगितामा सुनमायाले ८१ किलोमिटरको लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारेकी हुन् । उनले निर्धारित दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरिन् । सुनमाया पहिलो स्थान हात पारेकी अमेरिकी खेलाडी केटी शिम्ट भन्दा २६ मिनेटले पछि परिन् ।

विश्व माउन्टेन रनिङ एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा पहिलोपटक विश्व एथ्लेटिक्स र इन्टरनेश्नल एसोसियसन अफ अल्ट्रा रनर्स मिलेर सहकार्य गरेका थिए । प्रतियोगितामा ८० देशका १ हजार ७ सय खेलाडी सहभागी थिए । जो अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता भएको बताइएको छ ।

नेपाल एडभेन्टर रनिङ फेडेरेसनले नेपालबाट सुनमाया सहित सुमन कुलुङ, सांगे शेर्पा र मनकुमार रोकालाई प्रतियोगितामा सहभागी गराएको थियो । ८२ किलोमिटर लङ ट्रेलमा सुमन ३२औं स्थानमा र मनकुमार ३६औं स्थानमा रहँदै दूरी पार गरेका छन् ।

संघका अध्यक्ष एकेन्द्र कुँवरले नेपालले प्राप्त गरेको सफलता व्यक्तिगत मात्र नभएर नेपाली ट्रेल रनिङको विश्वस्तरीय उपस्थिति र सम्भावनालाई उजागर गरेको बताएका छन् ।

Yangle News