नेपाली कांग्रेसले आसन्न निर्वाचनमा अप्राकृतिक चुनावी गठबन्धन र सत्ता केन्द्रित सम्झौता नगर्ने निर्णय गरेको छ । एक्लै चुनावमा सहभागी हुने निर्णय भएको कांग्रेस नेताहरूले बताए ।
निर्वाचन आयोगबाट मान्यता पाएपछि पहिलो पटक बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले चुनावी गठबन्धन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । गगन थापाको सभापतित्वमा बसेको कांग्रेस बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाप्रति पार्टीमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
‘देउवाले लामो समयसम्म कांग्रेसको नेतृत्व लिनुभयो, यो योगदानको कदर र मूल्याङ्कन गर्दै हार्दिक आभार गर्ने र अभिभावकीय भूमिका प्राप्त हुने विश्वास लिएका छौं,’ प्रवक्ता चालिसेले भने । उनले चुनावको मुखमा पार्टीलाई संकटमा धकेल्ने काम कतैबाट हुन्न भन्ने विश्वास रहेको बताए ।
प्रवक्ता चालिसेले विशेष गरेर जेनजी आन्दोलनपछि प्रकट भएको नवयुवाको आकांक्षालाई प्रतिनिधित्व गर्दै जनताको अपेक्षालाई साकार पार्न कांग्रेस बैठकले दृढता व्यक्त गरेको पनि बताए । बैठकले पार्टीमा देउवाले पुर्याएको योगदान र नेतृत्वको उच्च मूल्यांकनसहित आभार व्यक्त गर्ने, निवर्तमान केन्द्रीय कार्यसमिति र कांग्रेस नेतालाई पार्टीको काममा फर्कन आग्रह, चुनावमा टिकट वितरणका लागि सभापति गगन थापाको नेतृत्वमा संसदीय बोर्ड गठन, निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गनेलगायत निर्णय लिएको थियो ।
निर्णयहरू :-
१. निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन- यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ ।
२ . यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश-विदेशमा रहेका सवै काग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ ।
३ . विभिन्न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथिहरूलाई पार्टीमा पुन : जोडिन यो वैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।
४ . यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो वैठकले श्रद्देय नेताको अभिभावकिय भूमिका प्राप्त हुने विश्वास राख्दछ ।
५. नेपाली काग्रेस आम नेपाली नागरिक प्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुँनेछैन । हामि सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौ ।
६ . यो नयाँ अध्याय हो- रुपान्तरणको, एकताको, विजयको ।
सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ ।
जय नेपाल
देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस