११ महिनामा दश लाख बढि विदेशी नेपाल भित्रिए

Yangle News
Yangle News
२०८१ मंसिर १६ गते
११ महिनामा दश लाख बढि विदेशी नेपाल भित्रिए

११ महिनामा दश लाख बढि विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमन संख्याले तेस्रो पटक १० लाख नाघेको हो ।

पर्यटक आगमनको यो संख्याले पर्यटन उद्योगमा उत्साह थपेको छ । २०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

‘पछिल्लो ११ महिनाको तथ्यांकबाट पर्यटन उद्योगले केही आशा गर्ने ठाउँ देखाएको छ,’ पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले भने, ‘अब बिस्तारै पर्यटनले गति लिने विश्वास छ ।’

बोर्डका अनुसार नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ जना आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा साढे १८ प्रतिशतले कम हो । त्यसबेला २४ हजार ४ सय ४३ जना आएका थिए ।

प्रमुख बजार अमेरिकाबाट १० हजार ९ सय ८१ आएका छन्, तर यो पनि गत वर्ष नोभेम्बरको दाँजोमा ४.२ प्रतिशतले कम हो । बेलायतबाट ६ हजार ६ सय ११ आएका छन् । चीनबाट ९ हजार ४ सय ५८ आएका छन् । चिनियाँ गत वर्ष नोभेम्बरको तुलनामा साढे २४ प्रतिशतले बढेका हुन् ।

त्यस्तै अस्ट्रेलियाबाट ४ हजार ८ सय २९ जना आएका छन् । यो गत वर्ष सोही अवधिको दाँजोमा साढे ४ प्रतिशतले कम हो । गत नोभेम्बरमा बंगलादेशबाट ५ हजार १ सय ४८ र श्रीलंकाबाट ४ हजार ३ सय ९५ जना आएका थिए ।

बोर्डका अनुसार गत नोभेम्बरमा सार्क राष्ट्रबाट ३१ हजार १ सय ६७, अन्य एसियाली देशबाट २४ हजार ८ सय ९७, युरोपबाट २६ हजार १ सय ५५ र मध्यपूर्वबाट १ हजार ४ सय ८८ पर्यटक नेपाल आइपुगेका थिए ।

२०२३ नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० आएका थिए । २०२४ नोभेम्बरमा ५।४ प्रतिशतले बढेका छन् ।

२०२४ जनवरीमा ७९ हजार १ सय, फेब्रुअरी ९७ हजार ४ सय २६, मार्च १ लाख २८ हजार १ सय ६७, अप्रिल १ लाख ११ हजार ३ सय ७६, मे ९० हजार २ सय ११, जुन ७६ हजार ७ सय ३६, जुलाई ६४ हजार ५ सय ९९, अगस्ट ७२ हजार ७ सय १९, सेप्टेम्बर ९६ हजार ३ सय ५ र अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।