बिमस्टेक सम्मेलनका लागि प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

Yangle News
Yangle News
२०८१ चैत्र १९ गते
बिमस्टेक सम्मेलनका लागि प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड प्रस्थान गरेका छन् । बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास) को छैटौं शिखर सम्मेलनमा नेपालको सहभागिता जनाउन प्रधानमन्त्री ओली आज थाइ एयरमार्फत बैंकक प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे, सुरक्षा निकायका प्रमुख लगायतले बिदाइ गरेका थिए । प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भ्रमण दलमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतकुमार राई लगायतका सरकार कर्मचारी र सहयोगी रहेका छन् । प्रधानमन्त्रीको भ्रमणका क्रममा थाई प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुने र पर्यटन तथा संस्कृतिका सन्दर्भमा दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

यसका साथै, दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्र बीचको ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने प्रधानमन्त्रीले सोमबार संसदमा जानकारी गराएका छन् । द्विपक्षीय वार्तापछि थाई समकक्षीसँगै संयुक्त प्रेस ब्रिफिङमा भाग लिने र थाई राजासँग भेटवार्तापछि थाइल्यान्डको एकदिने औपचारिक भ्रमण समाप्त हुने उनको भनाइ छ ।

नेपाल-थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षको इतिहासमा नेपाली प्रधानमन्त्रीको स्तरबाट थाइल्यान्ड भ्रमण हुन लागेको हो । यो विषयमा प्रधानमन्त्रीले भने, ‘यस बीचमा यति नजिकको र ट्रान्जिट पोइन्टजस्तो त्यहीँबाट यता जाने, उता जाने तर औपचारिक भ्रमण चाहिँ नभएको अवस्था रहेछ । त्यसलाई अन्त्य गर्न यसपटक नेपालको तर्फबाट कार्यकारी प्रमुखको औपचारिक भ्रमण यो पहिलोपटक हुँदैछ । यस अर्थमा यो भ्रमण आफैंमा महत्वपूर्ण हो भन्ने ठान्दछु ।’

Yangle News

प्रधानमन्त्री ओलीका अनुसार २१ चैत्रमा उनले थाइल्यान्डका प्रतिष्ठित व्यापारीहरूसँग भेटघाट–छलफल र दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने तालिका छ । त्यसपछि उनी डिनरमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओली २१ चैत्र दिउँसो हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी भएर नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसअघि बिहान ‘मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन अग्रिमेन्ट’ मा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछन् । २१ चैत्र साँझ नेपाली दूतावासमा आयोजना गरिएको रिसेप्सन (रात्रिभोज) मा सहभागी भएसँगै प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण सम्पन्न हुनेछ ।