देशमा व्याप्त वेथितिविरुद्ध जेनजी (सन् १९९७ को मध्यदेखि २०१२ सम्म जन्मिएको पुस्ता)ले आज आह्वान गरेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनका क्रममा सुरक्षाकर्मीले व्यापक दमन गर्दा दर्जनौं नवयुवाहरु मारिएका छन् भने सयौं घाइते छन् । घाइतेमध्ये कतिपयको अवस्था गम्भिर रहेको बताइएको छ ।
जेनजी आन्दोलन काठमाडौंबाहिर समेत सुरु भएको छ । विराटनगर, इटहरी, दमक, बुटवल, धनगढी, पोखरा लगायतका सहरमा पनि आज हिंसात्मक प्रदर्शन भए । इटहरीमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरुले केही स्थानमा मुख्यमन्त्रीको कार्यालय, प्रदेशसभा र स्थानीय तहहरुमा आक्रमण गरेका थिए ।
काठमाडौंलगायत इटहरी, बुटवल, भैरहवामा कर्फ्यू आदेश जारी भएको छ ।काठमाडौंमा संघीय संसद भवनमै आक्रमण भएपछि सेना परिचालन भएको छ । जेनजी नेपालले प्रदर्शनमा घुसपैठ भएको जनाएको छ ।
यसैबीच, प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकको संख्या पुष्टि गरेको हो । यो विविरण सोमबार दिउँसो ४ बजेसम्मको हो । राष्ट्रिय ट्रमा सेन्टरमा ६ जना ,सिभिल अस्पतालमा २ र एभरेष्ट अस्पतालमा ३ जना, केएमसीमा २,त्रिवि शिक्षण अस्पतालमा १ जना गरी १४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार प्रदर्शनमा घाइते करिब २ सय जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सिभिलमा १०० जना बढी, ट्रमा सेन्टरमा ४६ जना, एभरेष्ट अस्पतालमा ३४ जना, केएमसीमा ३१ जना, त्रिवि शिक्षण अस्पतालमा १८ जना गरी १ सय ९४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्रालयका अनुसार २२ जना घाइतेको अवस्था गम्भीर छ । ट्रमा सेन्टरमा ४ जना, केएमसीमा ८ जना, त्रिवि शिक्षण अस्पतालमा ६ जना र पाटन अस्पतालमा ४ जनासहित २२ जनाको अवस्था गम्भीर छ ।
बानेश्वरमा प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली चलाएको थियो । प्रदर्शनका क्रममा केही सुरक्षाकर्मीसमेत घाइते भएका छन् । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरू सडक प्रदर्शनमा उत्रिएका हुन् ।
सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले काठमाडौंको माइतिघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । सोही क्रममा जेनजी पुस्ता र प्रहरीबिच झडप भएको छ । भीड नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ । सुरक्षाकर्मीमाथि ढुंगामुढा र निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।