सुदूरपश्चिमको लगातार चौथो जित

Yangle News
Yangle News
२०८२ मंसिर ११ गते
सुदूरपश्चिमको लगातार चौथो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १३औं खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

बिहीबार त्रिवि क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा लुम्बिनीले दिएको १४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाउँदै १४५ रनसहित लक्ष्य पूरा गरेको हो ।

यो जितसँगै सुदूरले प्लेअफ सम्भावना बलियो बनाएको छ । सुदूरपश्चिमको यो चौथो जित हो भने लुम्बिनीको यो तेस्रो हार हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६९ रनमा अविजित रहे । उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । सुदूरपश्चिमले पहिलो विकेटको रूपमा ओपनर जोश ब्राउनको विकेट गुमायो । उनले ७ बलमा २ चौकासहित ९ रनमा क्याच भए ।

दोस्रो विकेट वान डाउन आएका क्रिस लिनको गायो । उनले १४ बलमा १ चौका र २ छक्कासहित १६ रन बनाउँदै क्याच भए । तेस्रो विकेटको रूपमा आरिफ शेखको विकेट गयो । उनले ३७ बलमा ४ चौका र १ छक्कासहित ३९ रन बनाए । उनले तेस्रो विकेटको लागि आरिफ शेखसँग ९९ रनको साझेदारी गरे । हर्मित सिंह ७ रनमा अविजित रहे । लुम्बिनी लायन्सका लागि अभिषेश गौतम, रुबिन ट्रम्पलमेन र तिलक राज भण्डारीले १/१ विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी १९.४ ओभरमा अलआउट हुँदै १४३ रन बनाएको थियो । लुम्बिनी लायन्सका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३६ बलमा ३ चौकाप्रहार गरे । उनले दिलिप नाथसँग ५२ रनको साझेदारी गर्दै लुम्बिनीलाई १०० माथिको रनमा पुर्याए । १२.२ मा अभिनाश बोहोराको बलमा नरेन साउदले २९ बलमा २९ रन बनाएका रोहित पौडेलको क्याच छुटाए । त्यसपछि जीवनदान पाएका रोहितले त्यसपछिको २ ओभरपछि उनको विकेट गयो ।

ओपनरद्वय डार्सी सर्ट र सुमित महर्जनले समान १८/१८ रन बनाए । दिलीप नाथले ३१ रन, गुल्बदिन नैबले ११ रन बनाए । त्यसपछिका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । १०४ रनमा तेस्रो विकेट गुमाएको लुम्बिनीले ३९ रनमा अन्य विकेट गुमायो । सुदूरपश्चिम रोयल्सका लागि अभिनाश बोहोरा र हर्मित सिंहले ३-३ विकेट लिए । हेमन्त धामीले २ विकेट र स्कट केइगुलिनले १ विकेट लिए ।

सुदूरपश्चिम हालसम्म अपराजित रहेको छ । सुदूरले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो । दोस्रो खेलमा सुदूरले पोखरालाई १८रन र कर्णालीलाई ४५ रनले हराएको थियो ।

लुम्बिनीले भने पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसपछिको २ खेलमा भने लुम्बिनीले हार बेहोरेको थियो । कर्णाली याक्ससँग ९ विकेट र काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएको थियो ।