अमेरिकाले नयाँ पाइलट कार्यक्रम ल्याएको छ । यसअन्तर्गत पर्यटक र व्यापारिक भिसामा अमेरिका आउने मानिसलाई भिसा बन्डको रूपमा १५ हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने छ ।
अमेरिकी विदेश विभागको यस कार्यक्रमको उद्देश्य भिसा सकिएपछि देशमा बस्ने मानिसको संख्या घटाउनु हो । कार्यक्रमअनुसार पर्यटक भिसा (बी१ भिसा) र व्यापार भिसा (बी२ भिसा) मा अमेरिका आउने व्यक्तिबाट भिसा बन्ड लिइनेछ । सार्वजनिक सूचनामा विगत केही वर्षदेखि लाखौं विदेशी समयमै अमेरिका नछोड्ने र भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बस्ने गरेको देखिएको भनिएको छ ।
यद्यपि, सूचनामा भिसा कार्यक्रमअन्तर्गत सबै देश समेटिनेछन् वा केही देशलाई छुट दिइनेछ भन्ने कुरा स्पष्ट पारिएको छैन । नयाँ भिसा कार्यक्रम अगस्ट २० देखि लागू हुने अपेक्षा गरिएको छ । यो कार्यक्रम करिब एक वर्षसम्म रहनेछ । अमेरिकी संघीय दर्तामा रहेको सूचना अनुसार कन्सुलर अधिकारीलाई भिसा आवेदकहरूलाई उनीहरूको विवेकमा ५, १० वा १५ हजार अमेरिकी डलरको तीन प्रकारका बन्ड लगाउने अधिकार दिइनेछ ।
अधिकारीहरूले पर्यटक र व्यापारिक भिसामा आएका व्यक्ति अमेरिकाबाट फर्किएपछि भिसाको सर्तअनुसार बन्डको पैसा फिर्ता गरिनेछ ।