२० वाणिज्य बैंकको कुल खुद नाफा १९.३० प्रतिशतले वृद्धि

Yangle News
Yangle News
२०८३ बैशाख १५ गते
२० वाणिज्य बैंकको कुल खुद नाफा १९.३० प्रतिशतले वृद्धि

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नेपालको वाणिज्य बैंकिङ क्षेत्रले उल्लेखनीय सुधार देखाएको छ । सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरूको कुल खुद नाफा ४९ अर्ब २१ करोड रुपैयाँभन्दा बढी पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको ४१ अर्ब २५ करोड रुपैयाँको तुलनामा १९.३० प्रतिशतले बढी हो ।

नाफाको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकले ६ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्दै शीर्ष स्थान कायम राखेको छ । त्यसपछि ग्लोबल आईएमई बैंकले ४ अर्ब ४० करोड रुपैयाँ र कुमारी बैंकले ४ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् । कुमारी बैंकले अघिल्लो वर्षको तुलनामा १३६१ प्रतिशतको उल्लेखनीय वृद्धि गर्दै तीव्र पुनरुत्थान देखाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले पनि २ अर्ब ७६ करोड रुपैयाँ नाफा आर्जन गर्दै १२९ प्रतिशत वृद्धि गरेको छ । एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः ३ अर्बभन्दा माथिको नाफा कायम राख्दै बजारमा बलियो उपस्थिति जनाएका छन् ।

मध्यम आकारका बैंकहरूको प्रदर्शन पनि सकारात्मक देखिएको छ । सानिमा बैंकको नाफा ४२ प्रतिशतले बढ्दै २ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा आर्जन गर्दै ५० प्रतिशतभन्दा बढी वृद्धि गरेको छ । सिटिजन्स बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले पनि स्थिर वृद्धि कायम गरेका छन् ।

बैंकहरूको नाफा वृद्धिको मुख्य कारण सञ्चालन दक्षता सुधार, खर्च नियन्त्रण तथा कर्जा गुणस्तरमा भएको सुधार रहेको विश्लेषण गरिएको छ । इम्पेरमेन्ट चार्ज घट्नुले पनि समग्र मुनाफा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । तरलता अवस्था सुदृढ रहँदा बैंकहरूले कर्जा-निक्षेप अनुपात सन्तुलित राख्न सफल भएका छन् । ब्याजदर घट्दै जाँदा कर्जा विस्तारका लागि अनुकूल वातावरण बनेको छ ।

समग्रमा, केही बैंकहरूमा सामान्य गिरावट देखिए पनि बैंकिङ क्षेत्रको प्रदर्शन सकारात्मक रहेको छ । यसले निक्षेपकर्ता तथा लगानीकर्ताको विश्वास थप मजबुत बनाएको छ ।