प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पपकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटबाट गुज्रिरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले देश संकटबाट गुज्रिएका बेला गम्भीर आत्मसमीक्षासहित सुधारका काम गर्नुपर्नेमा जोड दिए ।
‘सभामुख महोदय, देश भ्रष्टाचारको गम्भीर अवस्थामा गुज्रिरहेको छ । शान्ति प्रक्रियामा हामीले गरेको सम्झौता यस्तै अवस्थाका लागि थियो त ?,’ प्रतिपक्ष दलका नेता प्रचण्डले प्रश्न गर्दै भने, ‘संवैधानिक आयोगमा भागबन्डा, अदालतमा मनोमानी न्यायाधीशको नियुक्ति, देशका लागि अत्यावश्यक कानुनका विधेयकमा देखिएको अवाञ्छित चलखेल र अस्वाभाविक प्रकृतिका विवादले हामीलाई लज्जित बनाइरहेको छ ।’
उनले सार्वभौम संसद्लाई समेत बिचौलियाको खेलमैदान बनाइएको जिकिर गरे । ‘यो खेदजनक छ,’ प्रचण्डले भने ।
उनले वर्तमान सरकार गठन हुँदा नै यो कसको स्वार्थ पूरा गर्नका निम्ति भन्दै प्रश्न गरेका थिए । ‘त्यस बेला मैले सुशासनका विरुद्ध गठन भएको सरकार हो ? भनेर प्रश्न गर्दा सरकार छोड्नुपर्दाको पीडा भनिएको थियो । प्रधानमन्त्रीले त यो खरानीको डल्लो होइन, विचार गरियोस् नै भन्नुभयो,’ प्रचण्डले भने, ‘तर, एक वर्षपछि आइपुग्दा त्यो मेरो मात्र भनाइ रहेन । प्रधानमन्त्रीको बेडसम्म बिचौलियाको पहुँच छ भन्ने आमजनतालाई थाहा भइसकेको छ ।’
उनले सरकार संख्याका बलमा मात्र टिकिरहेको टिप्पणी गरे । ‘तपाईंहरूले गठन गरेको गठबन्धन संयन्त्र नै बडो अप्ठेरो अवस्थामा गुज्रिरहेको छ,’ प्रचण्डले भने, ‘अब मैले आरोप लगाइरहनु परेन । भ्रष्टाचारविरुद्धको अभियानमा कसैलाई थुन्नबाट रोक्नका लागि नै तपाईंहरूको गठजोड भएको तपाईं आफैँ भनिसक्नुभएको छ ।’