मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन संकट बढ्ने जोखिम बढेको छ । नेपालमा प्रयोग भइरहेको सबै पेट्रोलियम पदार्थ भारतबाट आइरहेको छ । युद्धले भारतकै आपूर्तिमा समस्या देखिएपछि त्यसको असर नेपालमा पनि पर्ने निश्चित छ । अहिले नै भाउ बढिसकेको छ भने आपूर्ति कम भएमा संकट पनि शुरू हुन्छ ।
यस्तो जोखिमलाई ख्याल गरेर सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गर्ने र साप्ताहिक बिदा बढाउनुपर्नेसम्मका छलफल शुरू भएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए ।
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टकाअनुसार पेट्रोलियम पदार्थको खपत घटाउने उपायबारे निगमले सरकारलाई राय दिइसकेको छ । मन्त्रालयका प्रवक्ता सुवेदीकाअनुसार भारतले केही खालका इन्धन अड्कलेर दिन थालिसकेको छ र अवस्था लम्बिँदै गए खाद्यतेलसहितका उपभोग्य वस्तुमा पनि मूल्यवृद्धि हुने चिन्ता छ ।
सरकारले सर्वसाधारणलाई विद्युतीय चुलोको प्रयोग बढाउन अनुरोध गर्दै आएको छ भने आयल निगमले आधा सिलिन्डर ग्यास बिक्रीको व्यवस्था गरिसकेको छ । यस्तै उपभोक्ता अधिकारकर्मीहरूले पेट्रोलियम पदार्थ आयात र वितरणको पारदर्शी जानकारी नागरिकलाई दिनुपर्ने र दैनिक उपभोग्य वस्तुको प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् ।