काठमाडौं । बाढीले बगाएर ल्याएको एक मृतकको शवबाट कानमा लगाइएको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बाढीले बगाएर ल्याएको शवसँग केही व्यक्तिले अमानवीय व्यवहार गर्दै कानमा रहेको सुनको मुन्द्रा निकाल्ने प्रयास गरिरहेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि घटनालाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। मृतकको शवप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने अवस्थामा गहनासमेत निकाल्ने प्रयास भएको भन्दै सर्वसाधारणले घटनामा संलग्न व्यक्तिमाथि तत्काल कारबाहीको माग गरेका थिए।
घटनाबारे जानकारी पाएपछि चितवन प्रहरीले भिडियोको आधारमा अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।