चिकित्सक आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

Yangle News
Yangle News
२०८२ असार २३ गते
चिकित्सक आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

उपभोक्ता अदालतको फैसलाविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएको छ ।

उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै सोमबार देशका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सी बाहेकका सेवा ठप्प पारेका हुन् । आकस्मिक बाहेकका सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरू फर्कन बाध्य भएका छन् । चिकित्सक संघको आन्दोलनले बिरामी मर्कामा परेका छन् ।

चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा उपभोक्ता अदालतले गरेको फैसलाले मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उनीहरूको भनाइ छ । विभिन्न अस्पतालविरुद्ध परेको मुद्दामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

उक्त आदेशको विरोध गरेको भन्दै संघका महासचिवलाई समेत अवहेलना गरेको मुद्दामा कारण देखाऊ भएको थियो । त्यसपछि संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । चिकित्सकको आन्दोलनका कारण आकस्मिक बाहेकका सबै सेवा बन्द भएको वीर अस्पतालका उपसचिव सिताराम खड्काले जानकारी दिए ।

आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउने संघले जनाएको छ । आन्दोलनमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल डेन्टल एसोसिएसन, नर्सिङ एसोसिएसन, फिजियोथेरापी एसोसिएसन, भेटेरिनरी एसोसिएसनलगायत समेत ऐक्यबद्धता जनाएका छन् ।