विश्वभर १२ करोड ३२ लाख मानिस जबर्जस्ती विस्थापित

Yangle News
Yangle News
२०८२ जेष्ठ ३० गते
विश्वभर १२ करोड ३२ लाख मानिस जबर्जस्ती विस्थापित

गएको वर्ष विश्वभर १२ करोड ३२ लाख मानिसहरू आफ्नो घरबाट जबरजस्ती विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । विश्वभर आफ्नो घरबाट जबरजस्ती विस्थापित हुनेहरूको सङ्ख्या केही घटेको तर अस्थिर रूपमा विस्थापितहरूको सङ्ख्या भने उच्च रहेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) को प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदन अनुसार गएको वर्ष विश्वभर ६७ मध्ये एकजना जबरजस्ती विस्थापित भएका छन् । सन् २०२३ को अन्त्यको तुलनामा विस्थापितहरूको सङ्ख्या ७० लाख अर्थात् ६ प्रतिशतले बढेको छ । यद्यपि यूएनएचसीआरले यस वर्षको पहिलो चार महिनामा जबरजस्ती विस्थापन घटेर अप्रिल २०२५ को अन्त्यसम्ममा १२ करोड २१ लाख पुगेको अनुमान गरेको छ ।

विस्थापित भएकामध्ये ७ करोड ३५ लाख द्वन्द्व वा अन्य सङ्कटका कारण आफ्नै देशभित्र आन्तरिक रूपमा विस्थापित भएका प्रतिवेदनमा उल्लेख छ । विस्थापनको मुख्य कारण सुडान, गाजा, म्यानमार र युक्रेनजस्ता देशमा देखिएका ठूला द्वन्द्वहरू रहेका यूएनएचआरसीको निष्कर्ष छ ।

सन् २०२४ मा विश्वव्यापी रूपमा जबरजस्ती विस्थापित भएका मानिसहरूमध्ये एक तिहाइभन्दा बढी अर्थात् १ करोड ४३ लाख सुडानी छन् । यस्तै विस्थापित हुनेहरूमा सिरियाली, अफगानी, युक्रेनी पनि उल्लेख्य सङ्ख्यामा छन् ।

प्रतिवेदनका अनुसार यस वर्षको पहिलो महिनामा घर फर्कने सिरियालीहरूको सङ्ख्या बढेको छ । मे महिनाको मध्यसम्ममा ५ लाखभन्दा बढी सिरियाली देश फर्किएको अनुमान छ ।

प्रतिवेदन अनुसार विस्थापितमध्ये सबैभन्दा धेरै ३५ लाखलाई इरानले शरण दिएको छ । यस्तै टर्किए, कोलम्बिया, जर्मनी, युगान्डामा धेरैले शरणार्थीका रूपमा आश्रय लिइरहेका छन् ।