चिनियाँ पक्षले दियो भारी वर्षा हुने सूचना, रसुवामा उच्च सतर्कता

Yangle News
Yangle News
२०८२ साउन १२ गते
चिनियाँ पक्षले दियो भारी वर्षा हुने सूचना, रसुवामा उच्च सतर्कता

चिनियाँ पक्षले भारी वर्षा हुने सूचना दिएपछि रसुवामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले सोमबार सूचना जारी गरेर नदी आसपास रहने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट समेत आगामी केही दिन यस क्षेत्रमा भारी वर्षाका कारण नदीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो । सूचनाअनुसार रसुवा जिल्ला भई बहने भोटेकोशी नदी, त्रिशुली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी/खोला आसपासका क्षेत्रमा जोखिम देखिन्छ ।

भारी वर्षाका कारण विपद्को जोखिम हुनसक्ने भएकोले आवश्यक पूर्वतयारी र सावधानीका लागि सूचना आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।

नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवं सावधानी अपनाउन सूचनामाफर्त अनुरोध गरिएको छ । साथै, सम्भावित विपदबाट यस जिल्लामा सञ्चालित सडक मार्गहरूमा समेत क्षति तथा अवरोध पुग्न सक्ने भएकाले यातायातका साधन सञ्चालन गर्दा र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन उनले आग्रह गरे ।

गत असार २४ गते रसुवास्थित भोटेकोशीमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको थियो ।

सूचना :

Yangle News