झापा जिल्लाका विभिन्न स्थानका सञ्चालित भूमिगत जलसिँचाइ आयोजनाबाट २०८०\८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो ।
आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित १० करोड ४५ लाख रुपैयाँको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय ३४ दशमलव १७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको हो ।
गत आवमा कृषि उत्पादन बढाउन नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेका खेतबारीमा भूमिगत सिँचाइ प्रणलीका माध्यमबाट सिँचाइ पुर्याउन १५ डिपट्युबवेल निर्माण र १७ वटा संरचाना निर्माण सम्पन्न भएको सूचना अधिकारी थापाले बताए । “आव २०७९–८० देखि २०८३–८४ सम्म पाँच वर्षमा सात हजार हेक्टर जमिनमा भूमिगत सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको आयोजनालाई बजेट अभाव हुँदा विगत दुई वर्षमा लक्ष्यअनुसार प्रगति हुनसकेको छैन”, उनले भने ।
आयोजनाका अनुसार भूमिगत सिँचाइका लागि पाँच वर्षमा रु दुई अर्ब ५१ करोड १२ लाख बजेट लाग्ने अनुमान छ । दुई आर्थिक वर्ष सकिँदा आयोजनाको वित्तीय १४ प्रगति र भौतिक प्रगति १८ दशमलव ८६ प्रतिशत छ ।