नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा कैलालीको सामुदायिक रेडियो टीकापुर एफएमलाई पुरस्कृत गरेको छ । लैंगिक समानता तथा सामाजिक समावेशिता पुरस्कार २०८२ (GESI Champion Media Award) बाट टीकापुर एफएम पुरस्कृत भएको हो । संचारमाध्यममा महिला सहभागिता, समावेशी भर्ना प्रणाली, लैंगिक तथा सामाजिक समावेशीकरण नीति, महिलाका मुद्दालाई प्राथमिकता, गुनासो व्यवस्थापन, लैंगिक तथा अपाङ्गमैत्री कार्यालय र पूर्वाधार लगायतलाई आधारमा सो एफएम उत्कृष्ट देखिएकाले पुरस्कृत गरिएको महासंघले जनाएको छ ।
दिवसका अवसरमा महासंघ केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगर र नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले संयुक्त रूपमा टिकापुर एफएमलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
नेपाली मिडिया क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरणको प्रवर्द्धन गरी सुरक्षित पत्रकारिताको प्रत्याभूति गराउन यस्तो पुरस्कारको व्यवस्था गरिएको जनाईएको छ । पुरस्कारका लागि विभिन्न २३ वटा सञ्चारमाध्यमले सहभागिता जनाएका थिए ।