दसैं मनाउन गाउँघर र जन्मभूमि फर्कनेको लर्को

Yangle News
Yangle News
२०८२ अशोज १३ गते
दसैं मनाउन गाउँघर र जन्मभूमि फर्कनेको लर्को

पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । दसैं मनाउनका लागि एक लाख ११ हजार ६३९ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यही असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा चार लाख ६७ हजार ९७७ जना काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

यसैगरी घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमा कम्तीमा दुई लाख ५२ हजार ७५५ जना काठमाडौं उपत्यका भित्रिएका प्रहरीले जनाएको छ ।

दशैंको चहलपहल सुरु भएसँगै गाउँ फर्किने नागरिकको सङ्ख्या बढ्न थालेका कारण काठमाडौं उपत्यकाभन्दा बाहिरी राजमार्गमा सवारीसाधनको चाप बढ्दै गएको प्रवक्ता सुवेदीले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट १८ हजार ६१३ सवारीसाधन बाहिरिएका छन् भने १३ हजार ९२९ सवारीसाधन र ६१ हजार ८२२ यात्रु काठमाडौं भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।