महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन सरकार गम्भीर भएर काम गरिरहेको बताउनुभएको छ ।
सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवनयापनको लागि बाध्यकारी व्यवस्था गरेर भएपनि राष्ट्रिय नीति, ऐन तथा अन्य व्यवस्था गरिने बताउनुभएको हो ।
ज्येष्ठ नागरिकको सम्मानपूर्वक बाँच्ने वातावरणको सुनिश्चित सहित अन्तरपुस्ता ज्ञान, सीप तथा अनुभवको हस्तान्तरणको माध्यमद्वारा उत्पादनसँग जोडिएको समाजको विकासमा लाभ प्राप्त गर्ने नीति सरकारको रहेको उहाले बताउनुभयो ।
उहाले पुस्तान्तरणको कार्यका लागि केही कार्यक्रम भएपनि संविधानले परिकल्पना गरेको ज्ञान, सीप, अनुभवलाई प्रयोग गर्ने राष्ट्रिय मार्ग निर्देश दर्शन निर्माण गर्न जरुरी रहेको धारणा राख्नुभयो । आफ्नो कार्यकाल छोटो रहेपनि कानूनको मस्यौदा तयार गर्ने र अवको निर्वाचनपछि आउने सम्बन्धीत सरकारले यसलाई अघि बढाउने उहाको विश्वास छ ।
बैठकमा मन्त्रालयका सचिव राधिका अर्यालले हाल सरकारले ज्येष्ठ नागरिकको निशुल्क उपचारको व्यवस्था मिलाइएको र हाल १६ लाख बढि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध भइरहेको जानकारी दिनुभयोे ।